बिसीसी युकेद्वारा मन्त्री पौडेलको स्वागत

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र राज पौडेललाई स्वागत गरेको छ । गत बुधबार २५ मे का दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा मन्त्री पौडेललाई बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले स्वागत गरेको हो । सो अवसरमा उनी संगै नेपालबाट आएका उनका पीए राजेन पौडेल र नेपाली जन प्रगतिशिल मन्च युकेका मन बहादुर गुरुङलाई पनि खादा लगाई स्वागत गरिएको हो ।
शिक्षा सम्बन्धी एक बिशेष कार्यक्रममा बेलायत आएका मन्त्री पौडेलले बेलायतस्थित नेपाली संघसंस्थाहरुसंग भेटघाट गर्ने क्रममा बिसीसी युकेको अल्डरसटस्थित गुम्बाको भ्रमण गरेका हुन् । संभवत उनी बिसीसी युके गुम्बामा प्रवेश गर्ने पहिलो नेपाली मन्त्री हुन् ।
बिसीसी युकेका धर्म गुरु खेन्पो कुन्ख्याप, लोपेन नोर्बु, कार्यसमिति, आमा समूह, सल्लाहकारलगायत भक्तजनहरुको बिशेष उपस्थितिमा स्वागत गरिएको थियो । सो अवसरमा माननीय मन्त्री पौडेल बौद्ध शिक्षाको बारेमा बोल्दै विदेशी भूमिमा बिसीसी युकेले बौद्ध गुम्बा स्थापनाको प्रसंशा गरेका थिए । त्यस्तै, बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले मन्त्री पौडेलको स्वागत गर्दै, बिसीसी युकेले गुम्बाले गर्दै आएको विभिन्न कार्यक्रम, सेवा र च्यारिटीमूलक कार्यहरुबारे जानकारी गराएका थिए । त्यस्तै, धर्म गुरुहरुले सबै मानवजातिको सुख, समृद्धिका लागि पूजापाठ गरेका थिए ।
बिसीसी युको अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त स्वागत कार्यक्रमलाई महासचिव क्याप्टेन देब घलेले संचालन गरेका थिए ।