skip to Main Content
01252 338765

बिसीसी युकेद्वारा विविध कार्यक्रमका साथ तमू ल्होछार मनाउँदै

  • News
बिसीसी युकेद्वारा विविध कार्यक्रमका साथ तमू ल्होछार मनाउँदै

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले बिसीसी युकेले विविध कार्यक्रमका साथ तमू ल्होछार मनाउने भएको छ । आउने ३० डिसेम्बर अर्थात् पौष १५ गतेका दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा धार्मिक पूजापाठका साथ तमू ल्होछार मनाउन लागिएको हो ।

प्रत्येक पौष १५ गते ल्हो अर्थात् बर्ग सर्ने भएकाले पनि यस दिनलाई तमूहरुले बिशेष महत्व दिने गर्दछ । यस बर्ष विश्वभर रहेका तमूहरुले उक्त दिन गाई बर्गलाई बिदाई र बाघ बर्गलाई स्वागत गर्दैछ । विश्वभरका तमूहरुले ल्होछार अर्थात् नयाँ बर्षले हरेक मानव जातीमा सुख, शान्ति, खुसी, सुस्वास्थ्य, दीर्घायू, समृद्धि ल्याउन सकोस् भन्ने कामनाका साथ धार्मिक पूजापाठ, एकअर्कामा शुभकामना आदानप्रदान, भेटघाट एवं विविध मनोरन्जनात्मक कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ । सोही क्रममा बिसीसी युकेले पनि विगत केही बर्ष देखि प्रत्येक षौष १५ का दिन अल्डरसटस्थित गुम्बा परिसरमा बौद्ध परम्परानुसार धार्मिक पूजापाठको आयोजना गर्दै आएको छ । सोहीअनुसार बिसीसी युकेले यस बर्ष आउने बिहिबार ३० डिसेम्बर बिहान १० बजे देखि साँझ ५ बजेसम्म ग्यब्शी, छोक र आयु पुजाको आयोजना गर्न लागिएको हो ।

सो ल्होछारको अवसरमा बिसीसी युकेका सल्लाहकार एवं ल्होछार संयोजक मेजर खुशीमान गुरुङले, “नयाँ ल्हो ले सम्पूर्ण तमूहरुमा एकता, सुख, समृद्धि, हर्ष, उल्लास, उमंग अनि नयाँ जोश–जाँगर साथै भगवान बुद्धप्रति श्रद्धा बढाउन जाँगर मिलोस्” भन्दै सबै तमूहरुमा ल्होछार मनाउन हार्दिक अनुरोध गरेका छन् । साथै, उनले उक्त दिन बिसीसी युकेको अल्डरसट गुम्बामा ग्यब्शी, छोक अनि आयुको पुजा हुने जानकारी दिदै, पछिल्लो समय कोभिड–१९ को संक्रमण दिनप्रतिदिन बढ्दै आइरहेकोले उक्त दिन घरमै बसेर ल्होछार मनाउन अनुरोध गरेका छन् । र, उक्त ल्हाेछारकाे फेसबुक लाइभ  गर्ने जनाइएकाे छ ।

संयोजक मेजर गुरुङले गतबर्ष जस्तै यसबर्ष पनि गुम्बाभित्र नआईदिन अनुरोध गर्दै आफ्नो नङ, कपाल र गेडागुडीहरु गुम्बाको पछिल्लो गेटमा राखिएको बाल्टीमा राख्न सुझाएका छन् । त्यस्तै, उनले गतबर्ष झै यसबर्ष पनि गुम्बामा धार्मिक पूजापाठ सहित सामूहिक रुपमा दीप प्रज्ज्वलन गरिने र भक्तजनहरुबाट प्राप्त डेनेशन रकम आवश्यक व्यक्ति वा संघसंस्थालाई सहयोग गर्ने कार्यक्रम रहेको हुँदा दीप प्रज्ज्वलन तथा डोनेशन गर्न इच्छुक दानवीरहरुले बिसीसी युकेको कार्यालयमा वा सिधै आफूलाई सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

स्मरण रहोस्, बिसीसी युकेले तमू ल्होछार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, बुद्ध पूर्णिमा लगायतका अवसरमा बिशेष धार्मिक पूजापाठको आयोजना गर्दै आएको छ । र, उक्त पूजापाठबाट वचत भएको रकम च्यारिटीमा खर्च गर्दै आएको छ । पछिल्लो समय नेपालमा कोभिडबाट प्रभावितहरुको सहयोगार्थ एनआरएनए युकेमार्फत अक्सिजन खरीदका लागि १५ हजार पाउण्ड सहयोग गरेको थियो ।

Back To Top
error: Content is protected !!