skip to Main Content
01252 338765

बिसीसी युकेको कार पार्किङ्ग समस्या समाधान

  • News
बिसीसी युकेको कार पार्किङ्ग समस्या समाधान

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको अल्डरसटस्थित गुम्बाको कार पार्किङ्ग समस्या अस्थायी रुपमा समाधान भएको छ । स्थानीय रस्मोर बरो काउन्सिलको सहयोगमा गुम्बासंगै रहेको अल्डरसट फुटबल स्टुडियमको कार पार्कमा पार्किङ्ग गर्न सक्ने भएको छ । गुम्बासंगै रहेको पियरसन व्यारेक कार पार्क गत महिनाबाट स्थायी रुपमा बन्द भएपछि गुम्बा दर्शनका लागि आउने भक्तजनहरु मार्कमा पर्दै आएका थिए ।
उक्त समस्या समाधानका लागि बिसीसी युकेले पहल गरेपछि स्थानीय काउन्सिलको सहयोगमा फुटबल क्लबले गुम्बालाई २० वटा शःशुल्क पार्किङ्ग पर्मिट उपलब्ध गराएको छ । उक्त स्टुडियमको पार्किङ्गमा पार्क गर्नका लागि गुम्बाका स्टाफसंग सम्पर्क गरी पार्किङ्ग पर्मिट लिएर मात्र पार्किङ्ग गर्न सकिने छ । उक्त पार्किङ्गमा १ घण्टासम्म पार्क गर्न १ पाउण्ड, ४ घण्टासम्म पार्क गर्न २ पाउण्ड र २४ घण्टासम्म पार्क गर्नका लागि ५ पाउण्ड शुल्क तोकिएको छ । उक्त शुल्क बिसीसी युकेले संकलन गर्ने सहमती भएको छ । तर, उक्त पार्किङ्ग पर्मिट भने आफू जाने बेलामा गुम्बा स्टाफलाई बुझाएर मात्र जानु पर्ने छ ।
“करीब आधा किमी टाढा रहेको मल्टीस्टोरी कार पार्कमा पार्किङ्ग गरेर पूजा सामाग्री बोकेर आउनु पर्ने बाध्यता थियो तर यो अहिलेको व्यवस्थाले धेरै सहज भएको छ” गुम्बा दर्शनका लागि आएका एक भक्तजन बताउँछन् ।
करीब १०० भन्दा बढी क्षमता भएको पीयरसन ब्यारेक कारपार्क स्थानीय काउन्सिलले केयर होम बनाउन बिक्रि गरिदिएपछि बिसीसी युकेका भक्तजनहरु, शुभचिन्तकहरु र स्थानीय बासिन्दाहरुले कार पार्कको आवश्यकता औल्याउदै बिक्री नगर्न अनुरोध गरेको भएतापनि स्थानीय काउन्सिलले आफ्नो निर्णय फिर्ता लिएनन् । गुम्बा संचालनदेखिनै भक्तजनहरुले प्रयोग गर्दै आएको पार्किङ्ग एक्कासी बन्द भएपछि गुम्बामा आउने भक्तजनहरुले ठूलो मार खेपिरहेको अवस्थामा उक्त समस्या समाधान भएको हो ।
तर, अल्डरसट फुटबल क्लबको खेल भएको समयमा उक्त स्टुडियमको कार पार्क भने प्रयोग गर्न पाउने छैन । कुन कुन दिन र समयमा खेल हुदैछ भन्ने बारे गुम्बासंग सम्पर्क गर्न सकिने छ । यदी खेल हुने दिनमा गुम्बा आउने हो भने अल्डरसट टाउन सेन्टर नजिकै हाईस्ट्रीटमा रहेको मल्टीस्टोरी कार पार्कमा पार्किङ्ग गर्न सकिने बिसीसी युकेका स्टाफ बताउँछन् ।

स्मरण् रहोस्, स्थानीय रस्मोर बरो काउन्सिलमा करीब १५ हजार भन्दा बढी नेपालीहरुको बसोबास रहेको अनुमान छ । साथै, नेपालीहरुकै पहलमा स्थापना भएको बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी), शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर, मगर संघ युके लगायत नेपाली संघसंस्थाहरुले भवन खरिद गर्न सफल भएका छन् । त्यस्तै, एनआरएनए युके, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को कार्यालय समेत अल्डरसटमा रहेको छ । साथै, ३ जना नेपालीहरु स्थानीय काउन्सिलरमा समेत निर्वाचित भएका छन् । थुप्रै उद्यमी तथा व्यवसायीहरुले रेष्टुरेण्ट, बङ्ग्क्युटिङ्ग हल, सैलुन, ग्रोशरी, ट्राभल, सूनचाँदी पसल, मोेर्गेज, फेन्सी स्टोर्स, क्लिनिङ्ग कम्पनी, सेक्युरिटी कम्पनी, मिडिया लगायत थुप्रै व्यवसायहरु संचालन भएका छन् ।

Back To Top
error: Content is protected !!