बिसीसी युकेद्वारा रिन्पोछे र खेन्पोको बिदाई

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेद्वारा रिन्पोछे र खेन्पो गुरुलाई बिदाई गरेको छ । सोमबार ८ फेब्रुअरीका दिन बिसीसी युकेका अध्यक्ष नरेश गुरुङ लगायत पदाधिकारीहरुले गुम्बा परिसरबाट खदा लगाई बिदाई गरेको हो । त्यस्तै, बिसीसी युकेका उपाध्यक्ष आङ्गदावा शेर्पाले उनीहरुलाई हिथ्रो बिमानस्थलमा पु¥याउन गएका थिए भने पूर्व अध्यक्ष ले.रि. नारायण प्रसाद गुरुङ एमबिई र उपाध्यक्ष धर्म तामाङ्ग समेत बिदाईका लागि हिथ्रो एयरपोर्ट पुगेका थिए । सोही अवसरमा उनीहरुले बिसीसी युकेको निमन्त्रणामा बेलायत आएका खेन्पो गुरु छिरिङ्ग तामाङ्गको समेत स्वागत गरेका थिए ।
गतबर्ष बेलायत आएका रिन्पोछे लुङ्गरिक ञ्यिमा र खेन्पो ञ्यिमा सिङ्गे मगर करीब १ बर्षको बसाई पश्चात नेपाल फर्केका हुन् । उनीहरुले करीब १ बर्ष भन्दा बढी बिसीसी युकेमा रहेर विभिन्न धार्मिक पूजापाठ, मृत्यु कर्मकाण्ड, ग्रह शान्ति, शिल तथा वाङ्ग (आर्शिवाद) ग्रहण, बौद्ध शिक्षा, मेडिटेशन, चोई प्रशिक्षण, धार्मिक प्रवचन गराउदै आएका थिए ।
बिसीसी युकेको बसाईको क्रममा रिन्पोचे लुङ्गरिकले धार्मिक पूजापाठका साथसाथै हेरकोर र खेन्पो ञ्यिमाले ईच्छुक नेपालीहरुलाई सामबोटा लिपी सिकाएका थिए । त्यस्तै, खेन्पो ञ्यिमाले लकडाउन शुरु भए देखिनै स्थानीय बेलायतीहरुको मेडिटेशन समूह र ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) मार्फत भर्चुयली मेडिटेशन समेत गराएका थिए ।
छोटो समयमा पनि भक्तजनहरुको अपार माया पाउन सफल लामा गुरुद्वयलाई बर्तमान कोभिड–१९ का कारण सबै सहभागी भई बिदाई गर्न नपाएता पनि गत शनिबार ६ फेब्रुअरीका दिन बिसीसी युके तथा सामबोटा लिपीका विद्यार्थीहरुले संयुक्तरुपमा जुम प्रविधि (भर्चुयल) मार्फत बिदाई गरेका थिए । सो बिदाईको क्रममा दुवै जना लामा गुरुहरुले बेलायतबासी नेपाली भक्तजनहरुले दिएका माया, साथ र सहयोगका लागि धन्यवाद दिएका थिए ।
जुम प्रविधिमार्फत भर्चुयली सम्पन्न उक्त औपचारिक बिदाई कार्यक्रममा बिसीसी युकेका अध्यक्ष नरेश गुरुङले बिसीसी युकेको तर्फबाट मायाको चिनो प्रदान गर्दै बिशेष धन्यवाद व्यक्त गरेका थिए । त्यस्तै, बिसीसी युकेका कार्यसमितिका पदाधिकारी तथा सदस्य, आमा समूह, बिसीसी युके लण्डन शाखाका पदाधिकारी तथा सदस्य, संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, सल्लाहकार, चोई प्रशिक्षणका विद्यार्थीहरु, शुभचिन्तक लगायतले शुभकामना मन्तब्य राखेका थिए । सो अवसरमा गुरुहरुको सम्मानमा एकसाथ चोईको प्रशिक्षण लिई सकेको विद्यार्थीहरुले बौद्ध धर्मानुसार डमरु, बज्र तथा घण्टी बजाई बिदाई गरेका थिए ।
त्यस्तै, गत शुक्रबार ५ फेब्रुअरीका दिन ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) का अध्यक्ष रामधन राई, उपाध्यक्ष नेम थापा र निवर्तमान अध्यक्ष जीब बेल्बासेले करीब १ बर्ष सम्म लगातार अनलाईनमार्फत मेडिटेशन गराएवापत खेन्पो ञ्यिमालाई प्रसंशा पत्र सहित सम्मान गरेका थिए । साथसाथै, स्थानीय रस्मुर बरो काउन्सिलका मेयरले समेत गुरु खेन्पोको योगदानलाई कदर गर्दै प्रसंशा पत्र जीआरएनसीका निवर्तमान अध्यक्ष जीब बेल्वासे मार्फत पठाएका थिए ।
बिसीसी युकेका अध्यक्ष नरेश गुरुङको अध्यक्षतामा सम्पन्न भर्चुयली आयोजित सो बिदाई कार्यक्रमलाई महासचिव रोविन गुरुङले संचालन गरेका थिए । स्मरण रहोस् यसअघि बिसीसी युकेकै निमन्त्रणामा रिन्पोचे लुङ्गरिक दोस्रो पटक र खेन्पो ञ्यिमा तेश्रो पटक बेलायत आएका हुन् ।