skip to Main Content
01252 338765

गणचक्रको पूजा गर्दै खेन्चे रिन्पोछेको जन्मोत्सव मनाईयो

गणचक्रको पूजा गर्दै खेन्चे रिन्पोछेको जन्मोत्सव मनाईयो

लण्डन । बौद्ध धर्म गुरु क्याबजे झोङसार खेन्चे रिन्पोछेका श्रद्धालू भक्तजनहरुले वृहत पुजाको आयोजना गरी उहाँको ६१ औं जन्म दिवस मनाएको छ । यसै बर्षदेखि नयाँ ल्हो अर्थात् ६१ बर्षको उमेरमा प्रवेश गर्ने क्रममा विश्वभर छरिएर रहेको उहाँका भक्तजन तथा शुभचिन्तकहरुले उहाँको सुस्वास्थ्य, दिर्घायू साथै धार्मिक लिला विश्वभर फैलियोस् भन्ने उद्देश्यका साथ सिद्विको श्रोत (भिमालाडुब) साधना विधिद्वारा एक लाख गणचक्रको पुजा (भुमछोक) आयोजना गरी जन्मोत्सव मनाएका हुन् । वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको गुम्बामा उक्त पूजा गरिएको हो । गत १९ डिसेम्बर देखि २१ डिसेम्बरसम्म आयोजना गरिएको पूजामा विश्वभर रहेका उहाँका सयौं शुभचिन्तकहरु जुम प्रविधिमार्फत भर्चुयली जुटेका थिए ।
बिसीसी युकेका सल्लाहकार मेजर खुशीमान गुरुङको संयोजनमा सम्पन्न भएको उक्त पूजामा बिसीसी युकेका धर्म गुरुहरु रिन्पोछे लुङ्गरिक र खेन्पो ञ्यीमाले उहाँको सुस्वास्थ्यका लागि बौद्ध धर्मअनुसार विभिन्न पूजापाठहरु गरेका थिए । उक्त पूजालाई बिसीसी युकेको फेसबुक पेजबाट लाईभ गरिएको थियो ।

बिशेष गरी फ्रान्स, ईटली, स्पेन, जर्मन, होल्याण्ड, पोल्याण्ड, ग्रीस, रसिया, सिंगापुर, बेलायत लगायत विभिन्न देशमा रहेका उहाँका शुभचिन्तक तथा भक्तजनहरुले पनि आ–आफ्नो स्थानबाट पूजापाठ गरेका थिए ।
भुटानमा जन्मिएका खेन्चे रिन्पोछेले ७ बर्षको उमेर देखि सिक्किमको तत्कालिन राजदरवारमा बसेर अध्ययन गरेका थिए भने पछि राजपुरस्थित शाक्य कलेज र युनिभर्सिटी अफ लण्डनमा समेत अध्ययन गरे । भारतको हिमाचल प्रदेशको बीर, इष्ट तिब्बत र इष्ट भुटानमा उहाँको बौद्ध अध्ययन केन्द्र स्थापना गरेका छन् । जहाँ थुप्रै विद्यार्थीहरु अध्ययनरत छन् । साथै, कुशल चलचित्र लेखन तथा निर्देशक समेत रहेका उहाँले आउँदो २६ र २७ डिसेम्बरका दिन ताईवानमा रिन्पोछेले विपसना मेडिटेशन गराउदै हुनुहुन्छ भने सो विपसनाको बिसीसी युकेका खेन्पो ञ्यीमा गुरुले अनुवाद गर्ने जनाइएको छ ।
उक्त पूजा सम्पन्न गर्नका लागि बिसीसी युकेका अध्यक्ष नरेश गुरुङ, रिन्पोछे लुङ्गरिक, सेराब, खेन्पो ञ्ङिमा, आदी, सल्लाहकार मेजर खुशीमान गुरुङ, मेजर हितमान गुरुङ, बिसीसी युके आमा समूह अध्यक्ष पुष्पा गुरुङ, बिसीसी युके लण्डन ब्रान्च आमा समूह अध्यक्ष अन्तिम गुरुङ, बिसीसी युकेका पूजा संयोजक आईबहादुर गुरुङ, साना लामा, रामचन्द्र गुरुङ लगायत बिसीसी युकेका सिंगो कार्यसमिति, आमा समूह, भक्तजन तथा शुभचिन्तकहरुले आ–आफ्नो स्थानबाट बिशेष भूमिका खेलेका थिए । त्यस्तै, बिसीसी युकेले तमू (गुरुङ) ल्होछारको पावन अवसर समेत बिशेष पूजाको आयोजना गर्ने जनाइएको छ । उक्त पूजा समेत भर्चुयली गरिने र सो पूजाको पनि फेसबुक लाईभ गरिने बिसीसी युकेले जनाएको छ ।

Back To Top
error: Content is protected !!