skip to Main Content
01252 338765 info@bccuk.org

“लोसार के हो र कसरी मनाइन्छ“

  • News
“लोसार के हो र कसरी मनाइन्छ“

आङ दावा शेर्पा (च्यावा)
उपाध्यक्ष, बिसीसी युके
मंगोल चन्द्र पात्रो (दथो) अनुसार प्रकृतिमा रहेका १२ वटा पशुपँक्षीको नामबाट बर्षको नाम राख्ने चलन छ । यसरी १२ ओटा जन्तु चक्र क्रमस फेरिने प्रक्रियालाई नै लोसार भनिन्छ । यो एक वर्ष अर्थात ल्हो खोर च्युङि १२ महिनाको चक्र पुरा भए पछि मात्रै एउटा जन्तु फेरिन्छ । त्यसैले लोसार र तथा नयाँ वर्ष फेर्ने क्रम एउटा पात्रोको नियम अनुरूप वर्षको एक पटक मात्रै हुन्छ । नेपालमा हालसम्म मुख्य तीन प्रकारको लोछार मनाइने गरेको पाइन्छ, तोलो लोसार, सोनाम लोसार र ग्याल्पो लोसार । तिनटै लोसार छुट्टाछुट्टै समयमा मनाएता पनि ल्लो चै एउटै हुन्छ । यो कुनै समुदाय विशेषको आधारमा फेरिँदैन ।
तोलो लोसार प्रत्येक वर्ष पुष महिनामा पर्दछ । प्राकृतिक रुपमा सूर्य उत्तर दिशा फर्कने, रुख विरुवाको नयाँ पालुवा फेरिने र यहाँबाट नै रात छोटों र दिन लामो समेत हुने भएकोले यसलाई नयाँ सालको रुपमा मनाएको पाइन्छ । सोनाम लोसार प्रत्येक वर्ष बाह्रौं महिनाको पहिलो दिनबाट शुरु हुन्छ । माघे संक्रान्तिबाट नयाँ खेतीपातीको कार्य शुरु हुने भएकोले किसानहरुले यसलाई नयाँ साल लोसारको रुपमा मनाएको विश्वास गरिन्छ । त्यसैले यसलाई किसान लोसार भन्ने पनि गरिन्छ । ग्याल्बो लोसार मंगोल वादशाह चाङगिच खाँको विजय उत्सवको रुपमा मनाएको विश्वास गरिन्छ । लोसारको विशेषतस् तिब्बती, शेर्पा, तामाङ, गुरुङ, योल्मु र थकाली जातीले नयाँ वर्षको रुपमा मनाउने एक मुख्य पर्व हो । यद्यपि पछिल्लो समयमा नेपालमा बसोबास गर्ने सबै जातीले यो चाड मनाउन थालेका छन् । लोसार पर्वका लागि नेपालमा सार्वजनिक विदा दिइन्छ । प्रत्येक वर्षसँग ५ वटा धातु र २ लिङ्ग मध्ये कुनै न कुनै धातुको नाम जोडेर आउछ । नेपाली बर्षको जस्तै १२ महिनाको नाम र सात बारको नाम पनि चन्द्र पात्रोमा अंकित छ । उक्त बर्षमा जन्मेको बालबच्चाहरुको बर्ष पनि ति नै पशुपँक्षीहरुको नाम र धातुबाट नै गणना हुन्छ । साथै कुनै पनि कार्य गर्न बौद्व धर्मावलम्बीहरुले आफु जन्मेको बर्ष, धातु, बार र महिना हेरी गर्ने चलन रहेको छ । जस्तै बैबाहिक सम्बन्ध, नयाँ कार्य थालनी, आफ्नो उमेर थाहा पाउन आदि । त्यसैले आदिम काल देखि नेपालको हिमाली भु–भागमा बसोबस गर्ने सम्पुर्ण महायान बौद्ध धर्मावलम्बी नेपालीहरुको नयाँ वर्ष तथा राष्ट्रिय पर्वको रुपमा लोसार मनाउदै आइ रहेको छ । बौद्ध धर्मलम्बि हरुले बित्न लागेको पुरानो वर्षलाई विदाइ हुने सालको ग्रह दशाले नयाँ सालमा निरन्तरता नपाओस् भनेर ग्रह दशा शान्त र विसर्जन गर्न लोसार लाग्न तीन दिन अघि छेवा ङिसुगु २९ औ दिन घर सरसफाई गरि बेलुकी परिवारका सदस्यहरु वीच गुथुक खाने चलन छ ।

“गुथुक”
गुथुकमा नौ ९ प्रकारका गेडा गुडी ,सागसब्जी राखेर पकाउने गरिन्छ । यही गुथुकभित्र आपसमा रमाइलोको लागि विभिन्न कुराहरु राखिएको पिठोको डाल्लोभित्र कोईला,खुर्सानी, काठ, नुन, मक्खन र सेतो चामल जस्ता कुराहरु पोको परेर राख्ने गरिन्छ । यी कुराहरु गुथुकमा भेला भएकाहरुले आ(आफनै भागमा परेको डल्लो खोलेर रमाइलो गर्ने चलन पनि रहेको छ । ती डल्लोले आ आफनै विशेषता दर्साए अनुसार खुर्सानी पर्ने रिसालु ,कोईला पर्ने मनकालो, मक्खन पर्ने चिप्ले, नुन र चामल पर्ने मनकारी भन्ने चलन रहेको छ ।

“लोसार”
लोसारको शाब्दिक अर्थ हो लो (बर्ष ) र सार (नयाँ) लोसार मनाउदा सर्वप्रथम पुरानो वर्षलाई विदाई र नयाँ वर्षलाई स्वागत गर्दछ । लोसार भन्दा १ दिन अगाडि बिशेष गरी घरहरु सजाइन्छ र घरको भित्तामा अष्टमङगल अथवा स्वस्तिक चिन्हहरु कोर्छन । घरको पुजा कोठामा रोटी (खाप्से) र विभिन्न फलफुलहरुले सजाइन्छ । नयाँ सालको पहिलो दिन विहान सवेरै चराचुरुङ्गी अथवा कोही पनि नउठिसकेको वेला (रातको ४,५ बजे) उठेर पानी पधेरामा गई हातमुख धोइ पानी लिन जाने र पानी लिने धारामा पूजा गरी धारामा करक्याङ (घ्यू), खादा धुपले पूजा पाठ गरी ल्याएको चोखो पानी भगवानलाई चढाउने, पुजापाठ गरि सकेपछि प्रसाद भगवानलाई चढाउने गरिन्छ । यो वर्ष मंगलमय वातावरणमा बित्तोस भनि प्रार्थना गरिन्छ । त्यसपछि सम्भव भए सबै सदस्यहरुले नयाँ वा सफा लुगा लगाएर घरका ठुलावडाबाट आशिर्वाद लिने घरका लोसारको छिमार खाना तयार हुन्छन् । छिमार दिंदा पहिला एक चम्चा हत्केलामा खानाको लागि दिइन्छ र अलिकति सगुनको लागि केटा हो भने दायाँ र केटी भए बायाँ कुममा छर्किन्छ । छिमार छर्किंदा दिनेले “टासी देलेक फुन्छोम छोक” र लिनेले “तेन्दु देवर थोपर स्योग” भन्छन् । छिमार सँगसँगै छयाङ्फु (अमृत जल) पनि लिइन्छ । घर परिवारका सबैले छिमार खाईसकेपछि सगुनको रुपमा सेतोको प्रतिक चामलबाट बनेको डेसिल खान्छन् । डेसिलपछि खाप्से र अन्य खानाका परिकारहरु खाँदै मनोरञ्जन गर्दै रमाइलो गर्दछन् । लोसारको पहिलो दिन आ–आफ्नै घरमा बसिन्छ । शुभ तिथि भएमा घरको अगाडि आ“गनमा राखिएको पुरानो धजालाई झिकी नयाँ धजा ठडाईन्छ ।
यदि यो दिन धजा ठडाउन शुभ दिन नपरेमा अन्य शुभ दिनहरुमा ठडाईन्छ । घर परिवारमा एक आपसमा लोसार टशी देलेग भनि शुभकामना आदान प्रदान गर्दै रमाइलो गर्ने चलन छ । लोसारको द्धोस्रो दिन आफ्ना परिवारका मान्यजनहरुबाट आर्शीवाद लिने परम्परा रहि आएको छ । तेस्रो दिन सम्पुर्ण ल्होसार प्रेमीहरु एक सर्वजनिक ठाउँ जस्तै गुम्बामा भेला भई महायान बौद्ध धर्मावलम्वीको विधी अनुसर धर्मपाल र कुलदेवताहरुलाई खुशी पार्न अमृत र धुप चढाउदै साङसेरक्यम पुजा गरी सबैले एउटै स्वरमा ” कि कि सो सो ल्ह ग्यल्लो”(देवताको जय होस्) भनि जयको प्रतिक चाम्पा अथवा सेतो पिठो आकाशमा तीन पटक उडाउने र गुम्बा वरिपरि बौद्ध धर्मावलम्वीहरुको नया ध्वजाहरु फरफराउने चलन छ । त्यस पछि लोसार लागेको पहिलो दिन देखि पुर्णिमाको दिन सम्म आफ्नो नाता गोता र छिमेकी सँग पाहुना चाड खाने र सुख दुःख बाँड्दै एक अर्कामा लोसारको मंगलमय शुभकामना आदान प्रदान गरिन्छ । साथै यस अवधिमा,महायान बौद्ध धर्मावलम्र्बीहरु विभिन्न तिर्थ घुम्न जाने र डाँडा पाखाहरुमा रंगीचंगी बौद्ध धर्मावलम्बीहरुको ध्वजाहरु फर फराउने कार्य गर्दछ । अन्तमा बौद्धधर्मको पवित्र ग्रन्थ र पात्रोको आधिकारिक तथ्यलाई आधारमानी लोसार छुट्टाछुट्टै समयमा मनाएता पनि ल्हाप्सु पुजा चै “ल्हो” परिवर्तन भएको तस्रो दिन एउटै तिथिमा मान्ने सदबुद्धि सवैलाई प्रदान गरुन भनेर भगवान बुद्धसंग प्रर्थना गर्न चाहान्छु ।

“बर्ष, महिना, दिन र खामको नाम”

(१) मंगोल चन्द्र पात्रो (दथो) अनुसार ल्हो चक्र पनि १२ प्रकृतिमा रहेका पशुपँक्षीहरुको नाम यस प्रकारका रहेका छन ।
(१) चिवा . मुसा (२) लाङ . गोरु (३) ताक . बाघ (४) ह्यो . खारायो (५) डुक . चट्याङ (६) डुल . सर्प (७) त . घोडा (८) लुक . भेडा (९) टे . बादार (१०) च्या . चरा (११) खि . कुकुर (१२) फग .सुङ्गुर ।

(द्द) मंगोल चन्द्र पात्रो (दथो) अनुसार (दावा च्युङ्ङी) १२ महिनाको नाम यस प्रकार रहेका छन ।
(१) छु दावा . फाल्गुन (२) ओ दावा . चैत (३) न्हाग दावा . बैशाख (४) सागा दावा . जेष्ठ (५) नोन दावा. असर (६) छ्युतोई दावा.साउन (७) ढोशिन दावा. भदौ (८)ठुम दावा. असोज (९) युग दावा . कार्तिक (१०) मिन दावा . मङ्सिर (११) गो दावा . पौष (१२) ग्याल दावा . माघ ।

(२) मंगोल चन्द्र पात्रो (दथो) अनुसार सात बारहरुको नाम यस प्रकार रहेका छन ।
(१) जा निमा . आईतबार (२) जा दावा . सोमबार (३) जा मिङ्मार . मङ्गलबार (४) जा ल्हक्पा . बुधबार (५) जा फुरुवा . बिहीबार (६) जा पासाङ . शुक्रबार (७) जा पेम्बा . शनिबार ।

(३) मंगोल चन्द्र पात्रो (दथो) अनुसार ५ वटा धातु र २ लिङ्ग धातुको नाम यस प्रकार रहेका छन ।

५ धातुहरुः (ज्ञ) माटो–स (द्द) आगो–मे (घ)काठ –सिङ (द्ध) फलाम–च्या (छ) पानी–छ्यु हुन् भने
२ लिङ्गहरु (ट) पुरुष–फो (ठ) स्त्री–मो हुन् ।

Back To Top
error: Content is protected !!